Tuesday , June 18 2019
Home / Entertainment / बिनाबर्दीकी सचेतक अर्थात् शारदा शर्मा

बिनाबर्दीकी सचेतक अर्थात् शारदा शर्मा

ब्रेन र ब्युटी दुवैको साथ छ, शारदा शर्मा, ५७, लाई । बाह्रैमास उनको व्यक्तित्व शान्त, सौम्य र शीतल लाग्छ । साँच्चै भन्ने हो भने यी परिचित लेखिका स्टार हिरोइनजस्तो लाग्छिन् । के उनले रजतपटमा रहर गरिनन् ?

०४२ सालतिर सिद्धार्थ वनस्थली स्कुलमा पढाइरहेकी थिइन् शारदा । आईएस्सीका सहपाठी हरिहर शर्मा हस्याङफस्याङ गर्दै पुगे । उनले सोधेछन्, ‘फिल्म खेल्ने हो ?’ सुरुमा त उनले पत्याइनन् । खासमा चेतन कार्की कान्छी फिल्मका लागि हिरोइन खोज्दै रहेछन् । कताकता फिल्म खेलौँ खेलौँ नलागेको होइन शारदालाई । तर, तत्काल निर्णय दिन सकिनन् । सानै थिए दुई छोरी । थुप्रैपटक सोचिन् शारदाले ।

हिरोइन भनेपछि समाजको नजरिया बेग्लै हुन्छ । फोटो खिच्ने, अटोग्राफ लिने ताँती लाग्छ । हिरोइन हुनुभन्दा पनि त्यसलाई धान्नै मुस्किल । अडिसन नै दिइनन् उनले । शारदाको ठाउँमा डेब्यु भइन् शर्मिला शाह (मल्ल) । भन्छिन्, “सिटी बस चढेर हिँड् नुपर्ने, तरकारी, दूध किन्न आफैँ जानुपर्ने मान्छे कसरी हिरोइन हुने ?”

सौन्दर्यको मानक एउटै छैन । कतै अनुहार हेर्छन्, कतै शरीरको नाप । शारदा के भन्छिन् भने शरीरलाई सुन्दर बनाउन सकिँदैन । त्यो प्राकृतिक हो । सुन्दर बनाउने त गुणलाई हो । आफ्नो कामलाई हो ।

सुन्दरी शारदालाई प्रेम नगर्ने को होला ? थुप्रैले प्रेमपत्र लेखे । उनले पढिन् मात्रै । तर, कसैलाई हृदय सुम्पिनन् । भन्छिन्, “साइन्स पढ्नेलाई फुर्सदै हुन्न । नोट बनाउने कि लभलेटर लेख्ने ?”

सौन्दर्य शारदाले मागेर पाएकी होइनन् । कसले दिएको हो भन्ने पनि थाहा छैन । तर, जे प्राप्त छ, त्यो अद्भुत छ । त्यसलाई सकेसम्म राम्रोसँग, प्रेमपूर्वक व्यतीत गर्नुपर्छ जस्तो लाग्छ उनलाई । सुन्दरी भन्नेलाई उनले दिने जवाफ ‘धन्यवाद’ मात्र हो ।

उनको बुझाइमा कामुकता व्यक्तिभित्र सलबलाइरहेको जीवन्त र सिर्जनशील ऊर्जा हो । सुन्दर हुनु र अनुभव गर्नु भनेको जीवनप्रति नित्य उत्सुक हुनु हो ।

स्याङ््जाको आँधीखोला, आठगह्रेमा जन्मेकी शारदाको दुई वर्षदेखि ठेगाना फेरिँदै गयो । प्रशासक महेश्वर शर्माको जहाँ जहाँ सरुवा हुन्थ्यो, उनी त्यहाँ त्यहाँ पुग्थिन् । उनले नुवाकोट, स्याङ्जा, कास्की र काठमाडौँमा बाल्यकाल बिताइन् ।

शान्त, लजालु र अन्तर्मुखी शारदाका साथी थिएनन् । यस अर्थमा उनको बाल्यकाल बाल्यकालजस्तो थिएन । पिताजी अफिसमा मात्र नभएर घरमा पनि प्रशासनै चलाउँथे । एकै दिनमा दुईवटा परीक्षा दिनु पथ्र्यो । एउटा स्कुलमा, अर्को घरमा ।

पोखरा बस्दा सेती नदी र याम्दीखोलाको दोभान देखेर उनमा भावनाको भलबाढी कति उर्लिएछ भने कविता नलेखिरहन सकिनन् । आठ वर्षीया शारदाले त्यो कविता संकोचवश कसैलाई देखाइनन् ।

त्यसपछि पनि मनका छाल, उकुसमुकुस र सुनामीलाई कविता नबनाएकी होइनन् । ती कविताको पेटारो एकैचोटि बिहे भएपछि आफ्ना पति नरहरि आचार्यलाई देखाइन् । तिनै उनका पहिलो पाठक र मेन्टर बने । बिहेको चार वर्षपछि कविता छापिदिए, पूजा पत्रिकामा । बीपी कोइरालाको निधनमा भावविह्वल भएको कविता थियो त्यो ।

“हुन त एकपटक बालक पत्रिकामा मेरो नाममा कथा छापिएको थियो तर बुबाले लेखेको कथा,” उनी भन्छिन्, “आफ्नो नाम देखेर मलाई कुनै खुसी लागेन ।”

१३ वर्षको उमेरमै कान्ति ईश्वरी राज्यलक्ष्मी हाइस्कुल, प्याफलबाट एसएलसी छिचोलेकी जेठी छोरी शारदालाई प्रशासक पिता डाक्टर बनाउन चाहन्थे । उनकै कारण एमएस्सीसम्म पढिन् ।

एमबीबीएसका निम्ति कोलम्बो प्लानमा नाम ननिस्कँदा शारदा खुसी पो भइछन् । किनभने, डाक्टरी उनको मिसन थिएन । उनी घाउ र रगत हेर्नै नसक्ने । तर, डाक्टरले हेर्नुपर्ने त्यही ।

दुई सिद्धार्थ स्कुलमा पढाइन् शारदाले । एउटा तनहुँ, बडहर भन्ज्याङको सिद्धार्थ मावि, अर्को काठमाडौँको सिद्धार्थ वनस्थली । त्यसपछि मोडिइन्, नेपाल परिवार नियोजन संघमा । त्यहाँ १६ वर्ष काम गर्दा उनी लैंगिक शाखा प्रमुख थिइन् ।

त्यसपछि चार वर्ष उनले अन्तर्राष्ट्रिय परिवार नियोजन संघ ( आईपीपीएफ)को दक्षिण एसिया क्षेत्रीय कार्यालय नयाँदिल्लीमा कार्यक्रम अधिकृत र सल्लाहकारका रूपमा बिताइन् । जागिरबाट अरू केही नभए पनि यौन तथा प्रजनन स्वास्थ्यका बारेमा फराकिलो दृष्टिकोण बनाउनुका साथै घर चलाउन सजिलो भएको उनको अनुभव छ ।

यौनका बारेमा निसंकोच लेख्ने भूमि पनि जागिरले नै दिएको हो । भारतको कोलकातामा एक यौनकर्मीलाई भेटेपछि उनले लेखिन्, ‘हामी चाहे वेश्यालयभित्र हौँ वा घरगृहस्थीमा, यौनकर्मी नै त हौँ हामी सबै । यौन कर्ममा संलग्न नहुने को छ ? भात खाएर र सम्भोग गरेर को अघाएको छ ?’

उनको लेखनमा नारीका भावना, संवेदना र अस्तित्व पोखिएका छन् । विभिन्न सामाजिक वा पौरुषय कृत्रिम पर्खालभित्र नारी अटाउन्न । किनभने, ऊ सिंगै प्रकृति हो ।

उनलाई लाग्छ, लेख्नु समयखण्डको तस्बिर बनाउनु हो । आफूभित्र र बाहिरको । लेखेकी छन्, ‘म पुरुषविरोधी कहिल्यै भइनँ र हुन्न पनि । मेरो जीवनमा तिनको भूमिका ज्यादै महत्त्वपूर्ण छ ।’

शारदाको पहिलो कवितासंग्रह आयो, सीमान्त अनुभूति (०४४) । सरदार यदुनाथ खनालको भूमिका, पुष्कर लोहनीको सेक्स एनालाइसिस, आनन्ददेव भट्टको विमर्शले उनलाई छुट्टै उचाइ दियो ।

ईश्वर बरालले भारतीय हवाईपत्रमा पठाए, ‘अब उप्रान्त यस्तो कविता लेख्दै नलेख्नु वेश ।’ त्यसले उनलाई दिनुसम्म तनाव दियो । पाणिनीको व्याकरण पनि पल्टाइन् उनले । वास्तवमा त्यो स्नेहपूर्ण चुनौती थियो । उनको ‘च्यालेन्जिङ टोन’का रूपमा आइपुग्यो, स्वर्णसूत्र ।

साहित्यमा उनका अतिरिक्त विधा हुन्, कथा, निबन्ध, उपन्यास र समालोचना । एघारौँ पुस्तकका रूपमा आउने क्रममा छ, कम्प । यो उनको दोस्रो उपन्यास हो । उनको विचारमा लेखक थुप्रै पात्र भएर बाँच्छ । सबै पात्र उसकै मानस सन्तान हुन् । तिनलाई न्याय गर्नुपर्छ लेखकले ।

भर्खर बीएस्सी सकेकी थिइन् शारदाले । १९ वर्षको उमेरमा मागी बिहे भयो, त्रिभुवन विश्वविद्यालय र त्रिचन्द्र कलेजमा पढाउने नरहरिसँग । पाँच वर्ष जेठा नरहरिलाई उनले बिहेमण्डपमै देखेकी हुन् ।

शारदाका कुनै सपना थिएनन् । एकैचोटि विपना आए अगाडि । पतिको कल्पना नगर्दै घरबार भयो । आमा बन्ने मानसिक तयारी नगर्दै दोजिया भइन् । दुई छोरी भए अनामिका (अस्ट्रेलिया) र अपराजिता ( अमेरिका) । दुवैले आफ्नै रुचिमा घरजम गरिसकेका छन् । एक जनाले त अन्तरजातीय बिहे नै गरिन् ।

शारदा र नरहरिले साझा मान्यताको धरातल नै भेटेनन् केही समय । कहिले पारिवारिक समस्या र बुझाइमा विवाद, कहिले राजनीतिक परिपाटी र सक्रियतामा फरक मत । भन्छिन्, “अब साथै जीवन चल्दैन भनेर धेरैपल्ट निष्कर्षमा पुगेका पनि हौँ ।”

३७ वर्षे दाम्पत्यबारे नरहरिले अग्निस्पर्शमा लेखेका पनि छन्, ‘मलाई लाग्दैन, समग्रमा मैले उनलाई चिनिसकेँ । मेरा लागि कुनै बेला उनी सपनाजस्ती हुन्छिन् र कुनै बखत कठोर यथार्थ ।’

शारदालाई लाग्छ, सहजीवन चलाउन हरबखत सहिष्णुता, धैर्य र क्षमा चाहिन्छ । जति नै साथै रहन्छौँ भने पनि समयले त आखिर छुट्याउँछ नै एक दिन । समयभन्दा बलियो को छ ?

१८ वर्षको अन्तरालमा दुईपटक मन्त्री भए नरहरि । राजनीतिमा उनले पतिलाई सघाइन् तर कहिल्यै सक्रिय भइनन् । लोकतन्त्रको भविष्य र कांग्रेसको सुधारका लागि बिनाबर्दीकी सचेतकका रूपमा उनले घचघचाइरहेकै हुन्छिन् ।

कहिलेकाहीँ आफूलाई नरहरिकी पत्नी मात्र देख्दा उनलाई झोँक चल्छ । कतिसम्म भने सबै नरहरिले लेखिदिन्छन् भन्ने समेत छन् । एकपटक मंगलादेवी सिंहले राष्ट्रियसभामा लैजान खोज्दा उनले आफ्नो उमेर नपुगेको र पार्टीमा आफ्नो योगदान नभएको भनेर पन्छाइदिएकी थिइन् ।

मेडिकल डाक्टरको भर्पाई स्वरूप पीएचडी डाक्टर झुन्डाउने रहर पनि पूरा भएन उनको । मदनमणि दीक्षितको उपन्यास माधवीका वैदिककालीन नारी पात्रका बारेमा इन्रोल्ड भएकी पनि हुन् । भन्छिन्, “शनिबार र आइतबार दौडेर पीएचडी हुँदो रहेनछ । गुलाफको पत्रजस्तो केलाउँदा केलाउँदा कृतिको सौन्दर्य मर्दो रहेछ । बरू, म लेख्छु, अरूले केलाउन् ।”

उसो त नेपाली विषयमा प्राइभेट एमए गरेकी शारदाले थेसिसमै १० वर्ष लगाइन् । पछि पुस्तककै रूपमा आयो, विश्वेश्वरप्रसाद कोइरालाका नारी पात्र । त्यसको मिहिनेतले आफ्नो गद्य लेखन माझिएको उनको स्वीकारोक्ति छ ।

जीवन झर्कोलाग्दो अनुभव हुन थाल्यो भने शारदा पदयात्रामा निस्किन्छन् । यसै गरी ५२ जिल्लाको भ्रमण गरिसकेकी छन् उनले । ओशो तपोवनमा पहिलोपल्ट अध्यात्म बोध भयो उनलाई । शाकाहारी भइन् । ध्यान गर्न थालिन् । छुटेको कुरा केही पाएजस्तो भयो ।

संसारका राम्रा कुराजति सबै उनका आइडल हुन् । उनलाई धर्मभन्दा अध्यात्ममा विश्वास छ । अध्यात्मले खुला र कृतज्ञ हुन सिकाएको छ । उनका लागि अध्यात्म पूर्णता र स्वत्वको खोजी हो ।

बाल्यकालदेखि चित्र बनाउँथिन् शारदा । ललितकला पढ्न नपाएको प्यास भने केही वर्षअगाडि सिर्जना आर्ट ग्यालरीमा कलाकार केके कर्माचार्यसँग ‘हबी क्लास’ लिएर मेटिन् । यति मात्र होइन, मधुरिमा कलाकेन्द्रका प्रदीप बमजनसँग दुई महिना बेसिक भोकल पनि सिकिन् ।

अब रुटिन छैनन् शारदाका । निश्चित फम्र्याट पनि छैन । आफ्नै छनोट र स्वतन्त्रता छ– लेख्ने, पढ्ने, बगैँचाको झार उखेल्ने या फूलमा पानी हाल्ने । भगवान्का नाममा दुइटा धूप बाल्छिन्, भजन गाउँछिन्, हार्मोनियम बजाउँछिन् ।

टोलछिमेकले थाहा पाएर भन्छन्, नानीले पनि हार्मोनियम बजाउँदो रहेछ । “लेख्दा पो कसैले चाल पाउँदैन,” उनी भन्छिन्, “गाएपछि, बजाएपछि सबैले सुनिहाल्छन् ।”

source ekantipur

About Subu Shrestha

Check Also

नाई नभन्नु ल ५’ को छायांकन इलामको चिया बगानमा

फिल्म ‘नाई नभन्नु ल ५’  को छायांकन सुरु भएको छ। फिल्म भदौको पहिलो सातादेखि प्रदर्शन गरिने भएका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *